५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


लोकसेवाको विज्ञापन विवाद ‘हेर्दाहेर्दै’ मा, सोमबार सुनुवाइ


0
Shares

काठमाडौं, असार १५ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा सूचीमा सोमबारका लागि राखिएको हो । 

यसअघि यही असार ११ गते सो इजलासले सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आजसम्मका लागि स्थगित गरिएको हो ।

लोकसेवा आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो । 

यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए । (रासस)