५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


पोखरामा विदेशी पर्यटकको सहभागितामा मनाइयो धान दिवस (भिडियो)


0
Shares

प्रदीप पौडेल

पोखरा, असार १५ । धान दिवसको अवसरमा पोखरामा पर्यटन व्यवसायीले पनि रोपाइँ महोत्सव मनाएका छन् ।

विदेशी पर्यटकहरुको समेत उल्लेख्य सहभागिता रहेकोे महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । 

पोखराका पर्यटन व्यवसायीले आइतबार रोपाइँ महोत्सव मनाएका हुन् । पोखरा पर्यटन परिषदले महतगौडामा आयोजना गरेको १६ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी हरेक वर्ष रोपाइँ महोत्सव मनाउने परम्परा नै बसेको छ । रोपाइँ महोत्सवमा पोखरावासीसँगै विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

खेतीयोग्य जमिन प्लटिङका कारण खुम्चिँदै गएकाप्रति पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा रहेका खेतियोग्य जमिन प्लटिङ हुन नदिने बताए ।

असार १५ मा हिलोमै टेक्नुपर्ने मान्यताका साथ अधिकांश सहभागीहरु हिलाम्ये भएको देखेपछि मन थाम्न नसकी विदेशी पर्यटकहरु समेत हिलो छ्यापाछ्याप गरेर रमाएका देखिन्थे । महोत्सवले पोखराको परिचय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुग्न सफल भएको परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलको भनाइ थियो ।

महोत्सवमा साउने प्रतियोगिता, आमा समुहबीच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, नेपाली महिला पुरुष र विदेशी महिला पुरुषको लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीबीच रस्साकस्सी प्रतियोगिता, कार्यक्रमसहित कृषक सम्मान र विविध सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएकोे थियो ।

असार १५ लाई धान दिवसकै रुपमा मनाउने संस्कृति बढ्दै गए पनि बढ्दो सहरीकरणले खेतीयोग्य जमिन नासिँदै गएकोतर्फ पनि उत्तिकै सचेत बन्नुपर्ने अवस्था आएको छ ।

रोपाइँ महोत्सवले पर्यटकलाई आकर्षण गरेजस्तै कृषिप्रतिको आकर्षण पनि बढाउन सक्नुपर्छ ।

भिडियो हेर्नुहोस्