
काठमाडौं, असार १० । सरकारले राष्ट्रियसभाबाट गुठी विधेयक औपचारिकरुपमा फिर्ता लिएपनि सरोकारवालाहरुले खबरदारी अभियान जारी राखेका छन् ।
सरकारले कुनैपनि बेला पुनः विधेयक ल्याउनसक्ने भन्दै उनीहरुले मंगलबार काठमाडौंको तःबहाल, लगनटोल क्षेत्रमा विरोधसभा आयोजना गरेका हुन् ।
विगतमा पनि सरकारले विभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले खबरदारी र जनदबाब आन्दोलन जारी राख्ने बताएका छन् ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले आफ्नो पूर्वनिधारित् आन्दोलनको कार्यक्रम यथावत् रहेको भन्दै सरकारप्रति विश्वास गर्ने आधार नभएकाले खबरदारी जारी रहने जनाएको हो ।
कार्यक्रममा भिक्षु तपस्सी धम्म महास्थवीरले नेपालीमा धर्मचित्त भएकाले सोझो भएको तर यसको फाइदा अरुले लिएको बताए ।
तर अबपनि सचेत नभए नेपालको सनातन धर्म, संस्कृति जोगाउन नसकिने र भावी पुस्ताले धिक्कार्ने बताए । गुठी परम्परालाई संयुक्त राष्ट्रसंघको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
त्यसअघि, लगनटोलबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा गरी तःबहालमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्