२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘लुम्बिनी र तक्षशिला वैचारिक अवधारणा’ अनुसन्धानपत्र प्रकाशन


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु अरुण गुप्तो र संगीता रायमाझीले ‘लुम्बिनी र तक्षशिला वैचारिक अवधारणा’ शीर्षकको अनुसन्धानपत्र प्रकाशन गरेका छन् ।

पाकिस्तानी राजदूतावासको सहयोगमा पुस्तिकाको आकारमा प्रकाशन भएको अनुसन्धानपत्रको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विमोचन गरे ।

त्यस अवसरमा  उपकुलपति बज्राचार्यले तक्षशिला र लुम्बिनी विविध सभ्यताका उद्गमस्थल र ज्ञानका केन्द्र रहेको र शाक्यमुनि बुद्धका शिक्षाले विश्वलाई करुण सिकाएको बताए ।

राजदूत मजहरले पाकिस्तान र नेपालबीच सरकारीस्तरमा ६० वर्षअघि औपचारिक सम्बन्ध स्थापना भए पनि जनस्तरको सम्बन्ध दुई हजार वर्षभन्दा पनि पुरानो भएको स्पष्ट पारे ।

गौतमबुद्ध र लुम्बिनीका कारण बौद्धशिक्षाको प्रचारप्रसार र ज्ञानको केन्द्र तक्षशिलाले दुवै देशका जनतालाई एकापसमा जोडेको उनको कथन थियो ।

पाकिस्तानका गान्धार र तक्षशिलासँग नेपालका कपिलवस्तु र लुम्बिनीको सम्बन्ध  भएको ऐतिहासिक उत्खनन्  एवं अन्वेषणले पुष्टि गरेको छ ।

तिनै विषयमा केन्द्रित रहेर प्राध्यापकद्वय गुप्तो र रायमाझीलेले अनुसन्धानपत्र प्रकाशन गरेका हुन् ।