Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


खानेपानी चोरी हुने डरले धारामा ताल्चा


0
Shares

दमौली, असार ८ । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ ।

खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताइन् ।

उनले भनिन्, ‘खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।’ उनका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ । 

‘अरु समयमा सधैं ताल्चा लगाएर नै राख्ने गरिएको छ,’ स्थानीयवासी तेजकुमारी वंशीले भनिन्, ‘खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।’ उनका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् । 

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । ‘साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ,’ स्थानीयवासी मीनकुमारी चन्दले भनिन् । (रासस)