
काठमाडौं, असार ४ । हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको अवस्था अझैपनि अज्ञात रहेको छ ।
चितवनको कुरिनटारबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार दिनभर खोजी गरे पनि केही फेलापार्न सकेको छैन ।
गोताखोर टोलीले बिहीबार पनि खोजीकार्य जारी राख्ने जनाइएको छ ।
खार्पुनाथ गाउँपालिका–५ मा मंगलबार लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार १० जना बेपत्ता भएका हुन् ।
नदीको पानी चिसो र बहाव बढी भएका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसकेपछि आवश्यक सामग्री र उपकरणसहित सशस्त्र प्रहरीले १० जनाको गोताखोर टोली त्यसतर्फ पठाएको हो ।
बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल पनि छिन् ।
त्यसैगरी, बेपत्ता हुनेमा जिपचालक सिमकोट–८ का मणी शाही, खार्पुनाथ–४ का चन्द्र हमाल, नैनसिंह भण्डारी, खार्पुनाथ–५ की वसन्ती शाही, १३ वर्षीय गोकुल सुनार, नन्ददेवी सिंह, खार्पुनाथ–१ की कौर दमाइँ र नाम नखुलेका उनका दुईवर्षीय छोरा र काठमाडौं, थानकोटका राजु श्रेष्ठ रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्