११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


बझाङ जिप दुर्घटनाः १० जनाको सामूहिक अन्त्येष्टि, चल्यो रुवाबासी (१० तस्वीर)


0
Shares

डीबी विष्ट (इमेज)

बझाङ, असार ४ । गएको सोमबार बझाङको मष्टा गाउँपालिका वडा नम्बर–१, डौठीमा जिप दुर्घटनामा परी ज्यान गुमाएका दशैजनाको बुधबार सामूहिक दाहसंस्कार गरिएको छ ।

जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तहरुले परम्पराअनुसार अन्त्येष्टि गरेका हुन् ।

कोटदेवल गाउँका मृतक सात र रनाडा गाउँका मृतक दुई गरी ९ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगरमा सामूहिक अन्त्येष्टि गरिएको थियो । सोक्रममा उपस्थित सबैका आँखा रसाएका थिए ।

यस्तै, जिपचालक सुरेन्द्र थापाको जिनाडा गाउँको कपडेमा अन्त्येष्टि गरियो ।  

त्यसअघि, जिल्ला अस्पताल सिमखेतबाट मृतक दशैजनाको शवयात्रा गरिएको थियो ।

मृतकका आफन्त, स्थानीय र शुभचिन्तकहरुको शवयात्रामा ठूलो भीड थियो । शवयात्रामा आफन्त र अन्य मानिसहरुको रुवाबासी चलेको थियो ।

यो जिप दुर्घटनालाई जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना मानिएको छ ।

यो दुर्घटनाले जिल्ला नै शोकाकुल भएको छ । शोकमा मष्टा गाउँपालिकाले बुधबार एक दिन सार्वजनिक बिदासमेत दिएको थियो ।

साथै, गाउँपालिकाले मृतकका परिवारजनका लागि प्रतिशव किरिया खर्च पाँच हजार र घाइतेहरुका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए ।

दुर्घटनामा घाइते भएका पाँचजनाको नेपालगन्जमा उपचार भइरहेको छ ।