
गृष्मा राजभण्डारी, सानु माली र उत्तम मानन्धर (इमेज)
काठमाडौं, असार ४ । गुठी विधेयकको चौतर्फी आलोचना भएपछि सरकारले यसलाई फिर्ता लिएपनि सरोकारवालाहरुले भने विरोधलाई जारी नै राखेका छन् ।
उनीहरुले बुधबार काठमाडौंको माइतीघर मन्डलामा विशाल खबरदारीसभा गरी विधेयक नै खारेज गर्न माग गरेका छन् ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि सरोकारवालाहरुले यसको खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मन्डलामा विशाल खबरदारीसभा गरेर सरकारलाई झकझक्याएका छन् । खबरदारीसभामा जनसागर उर्लिएको थियो ।
खबरदारीसभामा भाग लिन काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल, कीर्तिपुरलगायत विभिन्न स्थानबाट सरोकारवालाहरु आएका थिए ।
गुठी विधेयकमा नेवार समुदायले बढी चासो राखे पनि अन्य समुदायका मानिसहरुले पनि खबरदारीसभामा उपस्थिति जनाएर आफ्नो ऐक्यबद्धता प्रकट गरेका थिए ।
विभिन्न समुदायको उपस्थितिले गुठी विधेयक कुनै निश्चित समुदायकोमात्र चासोको विषय हैन भन्ने प्रस्ट पारेको छ ।
आ–आफनो संस्कृति झल्कने भेषभूषा अनि बाजागाजासहित उर्लेको जनसागरले सरकारविरुद्ध लेखिएका विभिन्न प्लेकार्डहरु बोकेका थिए ।
सहभागीहरुको बढी आक्रोश प्रधानमन्त्री केपी शर्मा ओली र सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाप्रति देखिन्थ्यो ।
त्यतिमात्र होइन, विभिन्न बाजागाजाको तालमा नाचगान गरी उनीहरुले सरकारलाई खबरदारी गरेका थिए ।
यो खबरदारीसभालाई कुनैपनि राजनीतिक दल विशेषसँग नजोड्का लागि सहभागीहरुले राजनीतिक दलको झन्डा बोकेका थिएनन् । थियो त केबल सबैको हातमा नेपालको पहिचान झल्कने राष्ट्रिय झन्डा ।
सहभागीहरुले यो आन्दोलनलाई पूरै मुलुकसँग जोड्न खोजेको देखिन्थ्यो । गुठी विधेयकमा सरकार एक कदम पछाडि त हटेको छ तर सरोकारवालाहरुसँग अझै सरकारले छलफल थालिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्