
हुम्ला, असार ४ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा पर्ने कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।
चितवनको कुरिनटारमा रहेको गोताखोरको टोली काठमाडौं हुँदै हेलिकोप्टरमार्फत् हुम्ला गएको हो । खार्पुनाथ गाउँपालिका–५ मा हिजो लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार १० जना अझै बेपत्ता छन् ।
कर्णाली नदीको पानी चिसो र बहाव बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसकेपछि आवश्यक सामग्री र उपकरणसहितको सशस्त्रको गोताखोर टोली त्यसतर्फ गएको हो ।
बेपत्ता आफन्तको खोजी गर्दै स्थानीयवासी पनि घटनास्थलमा पुगेका छन् । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल पनि छिन् ।
त्यसैगरी गाडी चालक सिमकोट–८ का मणी शाही, खार्पुनाथ–४ का चन्द्र हमाल, नैनसिंह भण्डारी, वडा नम्बर ५ की बसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेवी सिंह, खार्पुनाथ–१ पिउसकी कौर दमाई र नाम नखुलेका उनका दुई वर्षीय छोरा र काठमाडौं थानकोटका राजु श्रेष्ठ बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्