
ताप्लेजुङ, असार ४ । ताप्लेजुङको ओलाङचुङगोलामा रहेको प्रहरी चौकी सञ्चारविहीन बनेको छ । प्रहरी मुख्यालयसँग सिधा सम्पर्क हुने गरी जडान गरिएको भीएसएटी सञ्चार नेटवर्क लामो समयदेखि बिग्रिएर मर्मत नहुँदा ओलाङचुङगोलाको सीमा प्रहरी चौकी सञ्चारविहीन बनेको हो ।
बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत नहुँदा यहाँको प्रहरीले रिपोर्टिङ गर्न स्थानीयको फोन सेटको भर पर्नुपरेको छ । इन्टरनेटसमेत चल्ने उक्त प्रविधि लामो समयदेखि बिग्रिएर थन्किए पनि मर्मतमा कसैले चासो नदिएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले बताए ।
गाउँलेको फोन सेटसमेत राम्रोसँग नचल्ने हुँदा बेलाबेलामा सम्पर्क गर्न कठिनाई हुने प्रहरीको भनाइ छ । सोलारबाट चलाइएको एनटी फोन सेट घाम लाग्दामात्रै चल्ने गरेको छ । भीएसएटी नेटवर्क विग्रिएको विषयमा सूचना निर्देशनालयमा दुई पटक पत्र लेखेर पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । तर सम्वन्धित कम्पनीले नेटवर्क मर्मतमा चासो देखाएको छैन ।
चीनसँग सीमा जोडिएको ओलाङचुङगोला पूर्वको मुख्य व्यापारिक नाका हो । फक्ताङलुङकै घुन्साको प्रहरी चौकीमा समेत सञ्चार सुविधा नहुँदा समस्या भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्