११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


समता अस्पतालमा महिलाको मृत्युलाई लिएर तोडफोड, दिनभर तनाव, हत्याको दाबी (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, असार ३ । समता अस्पतालमा कार्यरत् एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन् ।

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत् रामेछापकी विमला तामाङले आत्महत्या गरेको घटनालाई लिएर सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो ।

अस्पतालमा ‘स्वीपर’कोरुपमा कार्यरत् २७ वर्षीया मृतक विमलाका आफन्त र स्थानीयवासीले अस्पताल हाताभित्र तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो ।

अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै आफन्तजन र टोलवासीले सो क्षेत्रको बाटो अवरुद्ध गरी ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो ।

विमलाले लगाएको लुगाको खल्तीमा भेटिएको ‘नोट’मा ‘अस्पतालका तीनजना कर्मचारीलाई कारबाही गर्नू’ भन्ने लेखिएको भेटिएपछि आक्रोशित प्रदर्शनकारी र आफन्तजनले सुनियोजित हत्या भन्दै नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई हत्याराकारुपमा कारबाहीको माग गर्दै प्रदर्शन चर्काएका थिए ।

नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेलापरेकाले हत्या भन्ने पुष्टि हुने मृतकका आफन्त नारायण ठोक्करको दाबी छ ।

यता, प्रहरीले भने घटनाबारे अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताएको छ ।

अस्पतालमा काम गरेवापत केही समयदेखि पारिश्रमिक पनि नपाएकाले अस्पतालका कर्मचारीसँग विमलाको बारम्बार विवाद हुने गरेको परिवारजनको भनाइ छ ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच मृतकका बालबालिकाको पालनपोषण र दोषी भनिएकाहरुमाथि कारबाहीको विषयमा सहमति भएपछि शव ‘पोस्टमार्टम’का लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

उता, अस्पतालका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरुले समता अस्पतालनजिकै रहेको स्कुलमा पनि तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । विद्यार्थीहरु पढाइमा रहेकै बेला तोडफोडको प्रयास भएपछि विद्यार्थीहरु त्रसित बनेका थिए ।

भिडियो हेर्नुहोस्