डीबी विष्ट (इमेज)
बझाङ, असार ३ । बझाङमा सोमबार दिउँसो एक यात्रीवहाक जिप दुर्घटना हुँदा १० जनाले घटनास्थलमै ज्यान गुमाए । पाँचजना गम्भीर घाइते छन् ।
मष्टा गाउँपालिका–१, डौठी भन्ने ठाउँमा से१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी एकै परिवारका तीनजनाको मृत्यु भयो । मष्टा गाउँपालिका–१ का ४० वर्षीय कलक खड्का, उनकी श्रीमती अन्दाजी ३८ वर्षीया जुनधारादेवी खड्का र उनका कान्छा छोरा १२ वर्षीया सरोज खड्काले ज्यान गुमाएका हुन् । कलककी छोरी १५ वर्षीया संगीता खड्का घाइते छिन् ।
कलकसँगै आएकी उनको नजिककी आफन्त ८ वर्षीया बालिका विपना खड्काकोसमेत दुर्घटनामा मृत्यु भयो ।
कलक भारतको केदारनाथ भन्ने ठाउँमा मजदुरी गरेर फर्किएको चार दिनमात्रै भएको थियो ।
गएको वैशाखको पहिलो हप्ता मजदुरी गर्न भारत गएका कलक जेठ ३२ गते घर पुगे । उनका जेठा छोरा सन्देश खड्काले प्रेमविवाह गरेर बझाङकै तल्कोट गाउँपालिका–१, भाटगाउँबाट श्रीमती भित्र्याएका थिए ।
उनको विवाह रीतिरिवाजअनुसार असार ५ गते धुमधामका साथ गाउँमै गर्ने निधो भएको थियो । खड्का हतार–हतार छोराको विवाह गर्न घर पुगेका थिए ।
जेठ ३२ गते घर पुगेका कलकले गाउँघरको सबै चाँजोपाँचो मिलाए । बुहारीका लागि गरगहना, केही सामान र लुगाकपडा किन्नका लागि सोमबार बिहान श्रीमती जुनधारा, कान्छा छोरा सरोजसहित आफन्त ८ वर्षिया विपनालाई लिएर कलक सदरमुकाम चैनपुर आए ।
पैसाको बन्दोबस्त नगरी आएको खड्का परिवारले सदरमुकाम चैनपुरमै रहेको लक्ष्मी विकास बैंकबाट एक लाख ५० हजार रुपैयाँ कर्जा लिएको उनका छिमेकी वसन्त खड्काले बताए ।
आफूलाई साक्षी राखेर छोराको विवाहका लागि भन्दै डेढ लाख ऋण निकालेर गरगहना र विवाहका लागि आवश्यक सामानहरु किनेर घरतिर लागेको वसन्त बताउँछन् ।
छोराको विवाहमा आउन भन्दै कलकले आफन्त सबैलाई निम्ता र खबरसमेत गरिसकेका थिए । तर, उनीसहित परिवारका तीनजनाको जीवन दुर्घटनामा समाप्त भयो । कलकका जेठो छोराको विवाह अधूरै रह्यो ।
अब कलकको परिवारमा जेठा छोरा सन्देश, कलककी आमा ७० वर्षीया हर्कादेवी खड्का, बुहारी र छोरी संगीता छन् ।
आमा–छोराको मृत्यु
कान्छा छोरालाई पैसा पठाउन र माइला छोरालाई लिन आएकी मष्टा गाउँपालिका–१ कै ५२ वर्षीया धौलीदेवी खड्का र उनका माइला छोरा १९ वर्षीय हिक्मत खड्काको पनि सो दुर्घटनामा परी मृत्यु भयो ।
मृतक धौलीका कान्छा छोरा पढाइको सिलसिलामा धनगढी गएका छन् । उनलाई पैसा पठाउनका लागि सदरमुकाम चैनपुर आएकी धौलीको जिप दुर्घटनामा परी मृत्यु भएको हो ।
उनका माइला छोरा हिक्मत लोकसेवाको तयारीका लागि भन्दै वैशाख पहिलो हप्तातिर काठमाडौं गएका थिए ।
लोकसेवाको परीक्षा हुने वा नहुने अन्योल भएपछि उनी त्यसको तयारी गर्न छाडेर घर फर्कंदै थिए । धौलीले माइलो छोरा काठमाडौंबाट आउने र कान्छा छोरालाई पैसासमेत पठाउनुपर्ने भन्दै माइला छोरालाई लिन सदरमुकाम चैनपुर आएको स्थानीय वीरेन्द्र खड्काले बताए ।
चैनपुरमा सबै काम सक्काएर घर फर्कंदै गर्दा उनीहरुकोसमेत दुर्घटनामा मृत्यु भयो ।
यस्तै, नुन, तेल, चिनी, चियापत्ती लिनका लागि चैनपुरबजार आएकी ७२ वर्षीया जुना खड्काले पनि जिप दुर्घटनामा ज्यान गुमाइन् । साथमै आएका उनका नाति १२ वर्षीय गणेश खड्का गम्भीर घाइते भएका छन् ।
जुनाका छोरा सबै भारतमा रोजगारीका लागि गएका छन् । आमाको मृत्यु भएको जानकारी पाएपछि उनीहरु भारतबाट घर फर्कंदै गरेको उनका आफन्तले बताए ।
श्रीमान्लाई लिन आएकी लक्ष्मीको मृत्यु
श्रीमान्को स्वागतका लागि चैनपुर आएकी लक्ष्मी द्धालको पनि सोही दुर्घटनामा परी मृत्यु भयो । उनका श्रीमान् जनक द्धाल घाइते भएका छन् ।
लामो समयदेखि घर नआएका जनक नेपाली सेनाका जवान हुन् । सिद्धबक्स गण पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत् जनक बिदा लिएर घर आएका थिए ।
श्रीमान् घर आउने खबर पाएपछि उनलाई लिन चैनपुर आएकी लक्ष्मीको दुर्घटनामा मृत्यु भएको हो ।
यस्तै, विभिन्न कामका लागि आएका उनीहरुजस्तै ३८ वर्षीया जुनधारा खड्का, ३० वर्षीय भक्त द्धाल र जिपचालक २२ वर्षीय सुरेन्द्र थापाकोसमेत दुर्घटनामा परी मृत्यु भयो ।
जिल्ला शोकमा
सोमबार जिप दुर्घटनामा एकै वडाका १० जनाको मृत्यु भएपछि अहिले मष्टा गाउँपालिका साथै जिल्ला नै शोकमा डुबेको छ ।
गाउँका हिँड्डुल गर्नसक्ने सबै सदरमुकाम चैनपुरमा आएका छन् । मृतक सबैका शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । जिल्ला अस्पतालमा रुवावासी चलेको छ ।










प्रतिक्रिया दिनुहोस्