Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


एक मिनेटमा ‘१०० को आवेदन’


0
Shares

काठमाडौं, असार २ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको संख्या बढेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको संख्यामा कमी आएपनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने संख्यामा वृद्धि भएको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएको बताए ।

उनकाअनुसार अहिले प्रतिमिनेट १०० जनाले फाराम भरिरहेका छन् । एकैपटक धेरै संख्याले फाराम भर्दा आयोगको ‘सर्भर’मा चाप देखिएको छ ।

‘पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्’–उनले भने–‘अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।’

एकैपटकमा धेरैजनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम सुरु गरेको हो ।

मंगलबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिनेछ ।

आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।

उपसचिव सुवेदीकाअनुसार आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको बताए ।

‘आयोगले यतिधेरै संख्यामा आवेदन माग गर्दा करिब तीन लाख बढीले भर्ने अपेक्षा गरेका थियौं’–उनले भने–‘अहिलेको संख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फाराम भर्ने समयमा भएकोले संख्यामा वृद्धि भने हुन्छ ।’

उनकाअनुसार अहिलेसम्म एक लाख ६२ हजार ३३३ जनाले आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेसी १० हजार १४, दलित एक हजार २३०, अपांगता ७३ र पिछडिएको ५० जना रहेका छन् । रासस