
कविराज घिमिरे
धनकुटा, असार २ । धनकुटाको पाख्रिवास नगरपालिकाले बस्तीको बीचबाटै ढुंगा उत्खनन गर्न स्वीकृति दिएपछि स्थानीय त्रसित बनेका छन् । आफूहरुसँग छलफल नगरी उत्खननको ठेक्का दिएर बस्ती नै विस्थापित गराउन खोजिएको स्थानीयको आरोप छ ।
पाख्रिबास–५ स्थित डिकुरे र खाल्डेका बस्तीको बीचबाट ढुंगा उत्खनन गर्न स्वीकृति दिएसँगै स्थानीयवासी चिन्तित बनेका हुन् । उत्खनन् कार्यले बस्ती जुनसुकै समय पहिरोको जोखिममा पर्न सक्ने भन्दै उनीहरुले यसलाई रोक्न आग्रह गरेका हुन् । आफूहरुसँग आवश्यक छलफल र समन्वय नगरी एकलौटी रुपमा ढुंगा उत्खनन् गर्न ठेक्का दिएर दलित बस्ती नै विस्थापित गर्न खोजिएको स्थानीयको आरोप छ ।
यसबाट बस्ती जोखिममा पर्ने भन्दै वडा कार्यालय र नगरपालिकामा गुनासो राख्दासमेत बेवास्ता गरेको स्थानीय मानबहादुर विश्वकर्माको भनाइ छ ।
उत्खनन् भइरहेको क्षेत्रभन्दा मुनितिर हिले–भोजपुर सडकखण्ड पर्ने भएकाले त्यसलाई पनि असर गर्ने स्थानीयको दाबी छ । आफैंले चुनेका जनप्रतिनिधि आफूहरुकै हितविपरीत काम गरेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।
यता पाख्रिवास नगरपालिकाका नगरप्रमुख विर्षबहादुर राई भने प्रारम्भिक वातावरण परीक्षण मूल्यांकनको प्रतिवेदनका आधारमा काम अगाडि बढाएको दाबी गर्छन् ।
जोखिमपूर्ण क्षेत्रका विपत्तिलाई राम्रोसँग आँकलन गरेर अगाडि बढ्न्ुपर्छ, ताकि त्यसले भविष्यमा थप क्षति नपुगोस् । स्थानीयका जायज मागलाई सरकारी निकायले आत्मसात गरेर अगाडि बढ्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्