१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


सरकारविरुद्ध विद्रोह गर्ने गुठियारहरुको चेतावनी, मन्त्रीको राजीनामा माग


0
Shares

काठमाडौं, जेठ ३० । संसदमा दर्ता गरिएको गुठी विधेयक खारेज नगरे सरकारविरुद्ध विद्रोह गर्ने चेतावनी गुठियार तथा सरोकारवालाहरुले दिएका छन् ।

बिहीबार ललितपुरमा भएको वृहत् विरोधसभामा उनीहरुले नेपालको धर्म, संस्कृति नस्ट गर्ने विधेयक ल्याएर सरकारले अरिंगालको गोलामा हात हालेको भन्दै यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार पनि यही सरकार हुने बताए ।

सयौं वर्षदेखि चलिआएको मौलिक गुठी परम्पराको रक्षा गर्न अरिंगाल बन्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

उनीहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्याल र गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन् ।

सो अवसरमा नेवाः देयु दबुःका अध्यक्ष नरेशकुमार ताम्राकारले विधेयक सरकारले खारेज नगरे सरकारविरुद्ध जनता ओर्लने चेतावनी दिए ।

त्यसअघि, भक्तपुर, काठमाडौं, कीर्तिपुर र ललितपुरका स्थानीयवासीले विरोधजुलुस निकालेका थिए ।

मंगलबजारबाट सुरु भएको जुलुस ललितपुर नगर परिक्रमा गरी कृष्ण मन्दिरमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

यसैबीच, ज्यापु महागुथि नेपाःले सत्यनारायण डंगोलको संयोजकत्वमा २०१ सदस्यीय गुठी विधेयकविरुद्ध संघर्ष समिति गठन गरेको छ ।