
काठमाडौं, जेठ ३० । गुठी विधेयक खारेजीको माग गर्दै उपत्यकाका नेवार समुदायसहित सरोकारवालाहरु आन्दोलित भइरहेका बेला सरकारले भने गुठी प्रणालीलाई सामन्तवादी प्रथाको संज्ञा दिएको छ ।
मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी, हलिया, कमलरीजस्ता प्रथाहरु सामन्तवादसँग जोडिएको भन्दै सरकार त्यस्ता सबै समस्या समाधान गर्न लागिपरेको बताए ।
गुठीको समस्या काठमाडौं उपत्यका र बाहिर फरक–फरक रहेको भन्दै सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले त्यसको पनि छिट्टै समाधान खोज्ने बताए ।
संविधानको भावना मिचेर सरकारले कुनैपनि काम नगरेको दाबी गर्दै उनले कही त्रुटि भए त्यसको समाधान खोज्न सरकार तयार रहेको बताए ।
लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि निकालेको विज्ञापनबारे अहिल्यै केही भन्न नसकिने भन्दै मन्त्री बाँस्कोटाले संसदको समितिले दिएको निर्णयमा आफूले केही बोल्न नमिल्ने बताए ।
सो अवसरमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना र सन्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि २०७६ स्वीकृत गरिएको जानकारी दिए ।
इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, मर्मत–सम्भार शुल्कमा दूरसन्चार सेवा दस्तुर छुट दिइने र इन्टरनेटको मूल्य समायोजन गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्