Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एसियन भलिबल प्रतियोगिता साउन अन्तिमबाट काठमाडौंमा


0
Shares

काठमाडौं, जेठ २४ । पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता साउन अन्तिम साताबाट काठमाडौंमा हुने भएको छ ।

आयोजक नेपाल भलिबल संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म हुने जानकारी गराएको छ ।

एसियाली भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । भलिबल संघ र महासंघबीच शुक्रबार ४० लाख रुपैयाँको प्रायोजन सम्झौता भएको छ ।

सम्झौतापत्रमा संघका अध्यक्ष मनोरन्जनरमण शर्मा र महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । महासंघले ४० लाखको चेक हस्तान्तरण गरेको थियो ।

वि.सं. २०७४ साल जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई बनाइएपनि अहिलेसम्म सरकारले अन्तर्राष्ट्रियस्तरको भलिबलको भौतिक पूर्वाधार भने बनाइदिएको छैन ।