१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


बारामा ग्यास ‘लिक’ भएर आगोलागी, सातजना घाइते, तीनको अवस्था गम्भीर


39
Shares

प्रकाश लम्साल (इमेज)

बारा, जेठ २४ । बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिन्डर ‘लिक’ भएर आगोलागी हुँदा एकै परिवारका चारजनासहित सात व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

शुक्रबार बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउलीबजारमा नरमान थिङको घरमा अम्बर कम्पनीको ग्यास सिलिन्डर लिक भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा परी ६७ वर्षीय नरमान थिङको परिवारका ज्ञानीमाया थिङ, बौद्धमान थिङ र अनिता थिङ घाइते भएका छन् ।

यस्तै, छिमेकीहरु दिल्लीमाया वाइबा, साइमाया वाइबा, र दिलमाया वाइबा पनि सो घटनामा घाइते भएका छन् ।

घाइतेहरुमध्ये चारजनाको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेज पुर्‍याइएको छ ।

घाइतेहरुको शरीरका विभिन्न भाग र कपाल जलेको छ ।

प्रहरीकाअनुसार रेगुलेटर जोड्नेक्रममा ग्यास लिक भएर आगो सल्किएको थियो ।