
शंकर खनाल, लक्ष्मणमान डंगोल र सहदीप केसी (इमेज)
काठमाडौं, जेठ १८ । निजामती सेवालगायत राज्यका विभिन्न निकायहरुमा निकै कम संख्यामा उपस्थिति रहेको मुस्लिम समुदायले आफ्नो पहुँच बढाउन पहिलोपटक लोकसेवा परीक्षा कक्षा सन्चालन गरेको छ ।
मुस्लिम आयोगको पहलमा देशभरका मुस्लिम समुदायका लागि पहिलोपटक निःशुल्क कक्षा सन्चालन गरिएको हो ।
कुल जनसंख्याको ६ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको नेपालमा निजामती सेवामा भने उनीहरुको सहभागिता ३ प्रतिशतको हाराहारीमा छ ।
पिछडिएको समुदायकारुपमा रहेको यो समुदायको शिक्षामासमेत न्यून पहुँच रहेकाले सरकारी सेवामासमेत सहभागिता कम रहेको देखिन्छ ।
मुस्लिम आयोगका सचिव शम्भुबहादुर खड्काले मुस्लिम समुदायका शिक्षित वर्गसमेत बेरोजगार भएकाले उनीहरुलाई रोजगारीको अवसर दिलाउन निःशुल्क लोकसेवा परीक्षा कक्षा सन्चालन गरेको बताए ।
लोकसेवा परीक्षा कक्षाका लागि फारम भर्न आयोगमा देखिएको भीडले निजामती सेवामा मुस्लिम युवायुवतीको प्रवेश गर्ने उत्साह प्रस्ट देखिन्छ ।
फारम भर्न रौतहट, नेपालगन्ज, बारा, पर्सा, सुनसरी, मोरङ, गोरखा, सिरहा, सप्तरीलागयत देशभरबाट करिब ३०० को हाराहारीमा मुस्लिम युवायुवती काठमाडौं आएका छन् ।
घरायसी कामकाजमा बढी सीमित रहने मुस्लिम युवतीहरुसमेत अहिले लोकसेवाको तयारी कक्षा लिने अवसर पाउँदा दंग छन् ।
मुस्लिम युवाहरु पनि निजामती सेवामा प्रवेश गर्ने आकांक्षाका साथ लोकसेवा परीक्षा कक्षामा सहभागी हुन उत्साहित छन् ।
यसअघि, निजामती सेवा प्रवेशको राम्रो भेउ नपाएका उनीहरुका लागि पनि यस्तो कक्षा सन्चालन भएबाट समुदायभित्र सकारात्मक सन्देश प्रवाह गर्ने ठानिएको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले देशभरबाट फारम भर्न आउने युवायुवतीहरुको संख्या उल्लेख्य रहेको र यसबाट मुस्लिम समुदायका युवायुवती राज्यको मूल प्रवाहमा प्रतिस्पर्धात्मक ढंगबाटसमेत आउन तयार रहेको स्पस्ट हुने बताउँछन् ।
निजामती परीक्षा कक्षा सन्चालनसँगै मुस्लिम आयोगले निजामती सेवामा पनि मुस्लिम समुदायको पहुँच विस्तार हुने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्