१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


उफ् कस्तो गर्मी ! : जनजीवन प्रभावित, तातो हावा चल्दा बजार सुनसान


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । केही दिनयता बढेको अत्याधिक गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

विगतका वर्षको तुलनामा यसवर्ष तापक्रम निकै बढेपछि जनजीवन अस्तव्यस्त बनेको हो ।

अत्याधिक गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । प्रायः जेठको मध्यबाट तापक्रम बढ्ने गरे पनि यस वर्ष भने कञ्चनपुरमा वैशाखको मध्यबाटै बढेको हो ।

जलवायु तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका अनुसार गत वर्ष यसक्षेत्रको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री पुगेकोमा यस वर्ष ४२ डिग्री नाघेको छ ।

गर्मीका कारण दैनिक काम गर्नसमेत सकस भएको छ । लामो समयदेखि यसक्षेत्रमा पानी पर्न नसक्दा दिउँसोको समयमा तातो हावा (लू) चल्न थालेको छ भने मानिसहरु घर बाहिर निस्कन छाडेका छन् । गर्मीबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

यता नयाँ शैक्षिक सत्र सुरु भएसँगै गर्मी बढेपछि विद्यार्थीलाई निकै समस्या भएको छ ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि विद्यार्थीहरु विद्यालयमै बेहोस हुने समस्या देखिन थालेको छ भने केही स्थानीय तहले गर्मीलाई मध्यनजर गर्दै एक साताका लागि विद्यालय बन्द गरेका छन् ।

विद्यायल तथा क्याम्पसले बिहानी कक्षा सञ्चालन गरे पनि बिदा भएपछि घर फर्किन समस्या हुने गरेको विद्यार्थीको गुनासो छ ।

गर्मीका कारण दिनभरि काम गरेर खाने मजदूर बढी मारमा परेका छन् भने महेन्द्रनगर बजारमासमेत चहलपहल घटेको छ ।

प्रायः ११ बजेपछि सुनसान देखिने महेन्द्रनगर बजारमा बिहान र बेलुका मात्रै मानिसको चहलपहल देख्न सकिन्छ ।

अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर ननिस्कने भएकाले रिक्सा, टाँगा र गाडीसमेत कम चल्ने गरेका छन् ।

गर्मी बढेपछि ६० प्रतिशत व्यापार घाटामा गएको स्थानीय व्यापारीको भनाई छ । उता गर्मी बढेसँगै पेय पदार्थको व्यापार भने निकै बढेको छ ।

बजार क्षेत्रमा जहाँतहीँ उखुको जुस, कागतीलगायत विभिन्न फलफूलबाट निर्मित पेय पदार्थ, आइसक्रिमलगायतको व्यापार बढेको छ ।