१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


‘रिक्त पद शीघ्र पदपूर्ति हुनुपर्छ’ (भिडियो)


0
Shares

प्रतीक्षा खनाल र उत्तम मानन्धर (इमेज)

काठमाडौं, जेठ १७ । लोकसेवा आयोगले हालसम्मकै उच्च संख्यामा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

९ हजारभन्दा बढीको संख्यामा आह्वान गरिएको पदपूर्तिपछि पनि ३० हजारभन्दा बढी कर्मचारी पद रिक्त रहनेछन् ।

लोकसेवा आयोगले बुधबार ५१५ स्थानीय तहका लागि खुला प्रतिस्पर्धामार्फत् ९ हजार १६१ कर्मचारीको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था तथा मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार कर्मचारी मागसम्बन्धीे सूचना आयोगले जारी गरेको हो ।

खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको र स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः संघ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी आयोगले गरेको छ ।

आयोगले हालसम्मकै उच्च संख्यामा कर्मचारी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।

हाल राज्यका तीनै तहमा ४५ हजारभन्दा बढी स्थान रिक्त छन् । त्यसैले यो विज्ञापनबाट पनि कर्मचारी अभावको समस्या हल हुनेछैन ।

प्रशासनविद् प्रा. डा. भीमदेव भट्ट जतिसक्दो छिटो पदपूर्ति गरी कर्मचारी खटाउनु आवश्यक रहेको बताउँछन् ।

मुलुकले समृद्धिको सपना देखिरहेको बेला प्रशासनिक कार्यमा कुनै बाधा, अड्चन आउन नदिने रिक्त पद शीघ्र पदपूर्ति हुनुपर्ने उनी बताउँछन् ।

आयोगले असार ३ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने आयोगले जनाएको छ ।

समावेशीतर्फ कम विज्ञापन आह्वान भएको गुनासो पनि छ ।

आयोगले भने स्थानीय तहले माग गरेबमोजिम समावेशीतर्फ विज्ञापन छुट्याएको जनाएको छ ।

असमानलाई समानताको तहसम्म ल्याउन संविधानले नै समावेशी प्रत्याभूत गरेको छ । तर, प्रशासनिक कुशलताका लागि प्राविधिक क्षेत्रमा भने समावेशीभन्दा दक्षताअनुसार पदपूर्ति गर्नु आवश्यक रहेको प्रशासनविद् भट्टको धारणा छ ।

एकैपटक ठूलो संख्यामा निजामती कर्मचारी भर्ना गर्दा कर्मचारीतन्त्रमा ठूलो संख्यामा नयाँ पुस्ताले प्रवेश पाउनेछन् ।

भिडियो हेर्नुहोस्