
काठमाडौं (जिल्ला ब्यूरो) प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।
चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एउटा मालवाहक ट्रकमा आगजनी भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा ना. ७ ख ९४९३ नं.को ट्रकमा आगजनी भएको छ ।
त्यसैगरी थाहा नगरपालिका–१ खानीगाउँमा पनि एक ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै बाराको जितपुर–सिमरा उपमहानगरपालिका–३ बजनीमा रोकेर राखिएको भारतीय नम्बर प्लेटको लरीमा आगजनी भएको छ ।
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको लरीमा आगजनी भएको हो ।
आगजनी कसले र किन गर्यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठोरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्