
कञ्चनपुर । सरकारले ल्याएको पुनस्र्थापना प्याकेज दीर्घकालीन नभएको भन्दै कञ्चनपुरका मुक्त हलिया परिवारले गुनासो गरेका छन् ।
उनीहरुले घरसमेत बनाउन नपुग्ने गरी सरकारले रकम दिएकाले पुनस्र्थापना प्याकेज दीर्घकालीन नभएको गुनासो गरेका हुन् ।
सरकारले दिएको २ लाख २५ हजार रुपैयाँले मात्रै घर नबनेपछि ऋण गरेर घर बनाउन लागेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका धनीराम लुहारले गुनासो गरे ।
उनले घर बनाउँदा ४ लाख रुपैयाँ खर्च भएको भन्दै ऋण तिर्न पुनः हलिया नै बस्नुपर्ने बाध्यता रहेको बताए ।
रोजगारी र सीपमूलक तालिम नभएकाले गाँसका लागि फेरी अरुको भर पर्नुको विकल्प नभएको उनको भनाइ छ ।
भूमि सुधार कार्यालय कञ्चनपुरले मुक्त हलियालाई बसोबासका लागि नौ धुर जग्गासँगै घर बनाउन प्रतिपरिवार २ लाख २५ हजार रुपैयाँ दिएको छ ।
तर, आयमूलक प्याकेज नदिएसम्म हलियाको अवस्था उस्तै रहने लुहारको भनाइ छ ।
राष्ट्रिय हलिया मुक्ति समाजका सामाजिक परिचालक लक्ष्मी विकले कञ्चनपुरका करिब आधा दर्जन स्थानमा मुक्तहलिया पुनस्र्थापनाअन्तर्गत घर निर्माणको काम भइरहेको बताए ।
हलिया मुक्त भए पनि उचित व्यवस्थापनमा राज्यको ध्यान नपुगेको उनको भनाइ थियो ।
कञ्चनपुरमा रहेका २ हजार ५ सय १६ मुक्तहलियामध्ये १ हजार ८ सय १० परिवारको पुनस्र्थापन भइरहेको छ भने ७ सय ६ परिवारको पुनस्र्थापन बाँकी रहेको राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्