
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, जेठ १० । विवाद मिलाउनेक्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा तनावग्रस्त बनेको कन्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजारको स्थिति सामान्य बन्दै गएको छ ।
किशोर–किशोरीले भागी विवाह गरेको विषयमा भएको छलफलकाक्रममा स्थानीय र प्रहरीबीच विवाद हुँदा बिहीबार राति झडप भएको थियो ।
झडपमा परी वडाध्यक्षसहित तीनजना घाइते भएका छन् । उनीहरुलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले जनप्रतिनिधिमाथि नै लाठी प्रहार गरेपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको हो ।
स्थानीय प्रशासनले छानबिन समिति बनाएर दोषीमाथि कारबाही र घाइतेको उपाचार गर्ने सहमति जनाएपछि अहिले स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए ।
पुनर्वास नगरपालिका वडा नम्बर–११ का १७ वर्षीय रोमन विक र वडा नम्बर–३ की १३ वर्षीया पुष्पा तामाङले बिहीबार भागेर विवाह गर्न खोजेपछि केटीपक्षले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलपछि केटा र केटीलाई परिवारको जिम्मा लगाएको थियो ।
वडाध्यक्षमाथि लाठी
किशोरीलाई परिवारको जिम्मा लिगाउने विषयमा स्थानीय र प्रहरीबीच विवाद हुँदा प्रहरीको लाठी रोक्नेक्रममा आफू घाइते भएको पुनर्वास नगरपालिका–११ का अध्यक्ष तुलसी अर्यालले बताए ।
के भन्छन् स्थानीय ?
स्थानीयले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमसहितका प्रहरीले मदिरा सेवन गरी आफूहरुलाई गाली–गलौज गरेको आरोप लगाएका छन् ।
शुक्रबार स्थानीयले प्रहरी ‘ज्यादती’को विरोध गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका थिए ।
सोक्रममा स्थानीयले मोटरसाइकल र इप्रकाको गेटमा तोडफोड तथा आगजनी गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्