२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


निर्मला हत्याकान्डको १० महिनाः जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना


0
Shares

कन्चनपुर, जेठ १० । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै शुक्रबार कन्चनपुरका स्थानीयले प्रदर्शन गरेका छन् ।

घटनाको १० महिना पुग्दासमेत दोषी पत्ता नलागेको भन्दै उनीहरुले दबाबस्वरुप महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका हुन् ।

नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले सरकारले दोषीलाई पत्ता लागाउन आलटाल गरेको आरोप लगाइन् ।

निर्मलाको हत्यारा संरक्षण गर्न सरकार आफैं लागेको आरोप लगाउँदै दोषी पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने उनको भनाइ थियो ।

सरकारले चाहेमा दोषी सार्वजनिक गर्न समय नलाग्ने अधिकारकर्मीहरुले दाबी गर्दै आएका छन् ।

धर्नामा निर्मलाका आफन्त पनि सहभागी थिए ।

गएको साउन १० गते हराएकी कन्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेलापरेको थियो ।

घटना भएको १० महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।