Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेपालीहरुलाई अमेरिकी राजदूतको जवाफ फेसबुक मार्फतः नेपालमा खैलाबैला


0
Shares

काठमाडौं । नेपालका लागी अमेरिकी राजदुत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत राजदूतसँग गफगाफ श्रृंखलामा नेपालीहरुका प्रश्नको जवाफ दिने घोषणासँगै नयाँ बहस सृजना भएको छ ।

यो कुटनीतिक रुपमा ठीक हो की होइन भन्ने बहस चलिरहेका बेला नेपालको परराष्ट्र मन्त्रालयले पनि चासो देखाएको छ ।

जानकारहरु यो पब्लिक डिप्लोमेसीकै पाटो भएको तर्क गर्छन तर सरकार एवं विभिन्न राजनीतिक दलका नेताहरुले भने यसमा गम्भिर आपत्ति जनाएका छन् ।

अमेरिकी राजदूतको फेसबुकमा गरिएको आव्हानको भिडियो राख्ने अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेसँगै वहसले नयाँ मोड लिएको हो ।

भिडियोमा बेरीले फेसबुक र ट्वीटरमा भएका फलोअरलाई प्रत्यक्ष भेट्न असम्भव भएकाले राजदुतसँग गफगाफ नामक नयाँ श्रृंखला शुरु गरेको घोषणा गरेका छन् । 

अमेरिकी दुतावासले तपाईँले राजदुतलाई एउटा प्रश्न सोध्ने अवसर पाउनुभयो भने त्यो के हुन्थ्यो भन्दै साप्ताहिक भिडियो सिरिजमा प्रश्न सोध्न आव्हान गरेको छ । दुतावासका अनुसार हरेक सोमबार नयाँ प्रश्न र नयाँ उत्तर भिडियोका रुपमा आउने छ ।

दुतावासले गतहप्ता आव्हान गरेसँगै पक्ष र विपक्षमा बहस शुरु भएको छ ।

कोहि, राजदुतले जनतासँग प्रत्यक्ष सम्बन्ध राखेर गफगाफ श्रृंखलानै चलाउन नमिल्ने बताईरहेका छन् । कोहि भने यो कुटनीतिक रुपमा गरिने सामान्य अभ्यास हो भनिरहेका छन् ।

पूर्व राजदूत सुरेशराज चालिसे पब्लिक डिप्लोमेसी अन्र्तगत सुरु गरिएको यो अभियान सामान्य प्रक्रिया भएको बताउँछन् ।

पक्ष विपक्षमा बहस चुलिएपछि नेपालको परारष्ट्र मन्त्रालयले यसमा चासो देखाएको छ ।

श्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले यसमा आपत्ति जनाएका छन् भने सचिव शंकरदास बैरागीले राजदुत बेरीलाई मन्त्रालयमै बोलाएर जानकारी लिएका छन् ।

राजदुतले आफ्नो बोली र व्यवहारमा सदैव कुटनीतिक मर्यादाको ख्याल राख्नै पर्दछ ।

आफु खटिएका देशका जनतासँग पब्लिक डिप्लोमेसी अन्तर्गत कुराकानी गर्दा कुटनीतिक मर्यादा भने पालना गर्नैपर्ने पूर्व राजदुत चालिसेको भनाई छ ।

डिजिटल दुनियाँमा दुई व्यक्ति बीचको कुराकानी रोक्न त गाह्रो नै छ । यसकारण चनाखो हुनुपर्ने, कुराकानीको विषय र व्यवस्थापनमा हो ।

कुराकानी अमेरिका, अमेरिकी सरकार र अमेरिकी जनताका विषयमा बाहेक नेपालको आन्तरिक मामिलामा भए के गर्ने ? र त्यो कुराकानीको अनुगमन नेपाल सरकारले गर्ने कि नगर्ने प्रष्ट हुनु जरुरी छ ।

अर्कोतर्फ नीति निर्माण तहमा बसेकाहरुले बन्द कोठामा राजदुतसँग जस्तो पनि गफ गर्न हुने तर सामाजिक सञ्जालमा सार्वजनिक रुपमा हुने गफगाफमा आपत्ति जनाउने हो भने त्यसको पनि कुनै तर्क देखिदैन ।

यसकारण नेपालले आफ्नो कुटनीतिक आचारसंहिता स्पष्ट पार्नु पर्दछ भने यहाँ रहेका कुनैपनि देशका राजदुतले त्यसलाई जस्ताको तस्तै पालना गर्नै पर्दछ ।