२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिका के भन्छन् ! (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी

काठमाडौं, जेठ ८ । काठमाडौंको ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकाहरु आफ्नै घर फर्कन लालायित देखिएका छन् ।

यही जेठ १ गते बालगृहबाट उद्धार गरिएका बालबालिकालाई बालकल्याण समिति र प्रहरीको रोहवरमा विभिन्न आठ वटा संघसंस्थामा राखिएको छ । आफ्ना बालबालिका खोज्दै अभिभावकहरु पनि ती संघसंस्थामा पुग्न थालेका छन् ।

काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहबाट उद्धार गरिएका १२२ जना बालबालिकालाई राजधानीकै आठ वटा संघसंस्थामा राखिएको छ । ती बालबालिकाको अवस्था बुझ्न हाम्रो टोली केही संस्थामा पुग्दा केही केही निकै उदासिन अवस्थामा भेटिए । ऐश्वर्य बालगृहमा रहँदाको पीडा भुल्न कोही भने सोही संस्थामा रमाइरहेका समेत थिए ।

ऐश्वर्य बालगृहमा रहँदाको पीडाबाट मुक्ति पाउँदाका खुसीसमेत उनीहरु प्रकट गर्दै थिए ।

बालगृहबाट मुक्ति पाएपछि आफ्ना अभिभावकलाई भेट्ने चाहना अधिकांशको छ । उद्धारका क्रममा एकै परिवारका बालबालिका छुट्टिएर बस्नुपर्दा निराशसमेत देखिएका छन् ।

अभिभावकहरु पनि आफ्ना बालबालिका खोज्दै अहिले बालकल्याण समितिमा धाइरहेका छन् । एउटै परिवारका बालबालिका छुट्टिएर अलगअलग संस्थामा पुगेपछि अभिभावकलाई आफ्ना बालबालिका कुन संस्थामा छन् भन्ने थाहा पाउन पनि निकै मुस्किल परेको छ । कतिले आफ्ना बालबालिकासँग भेटसमेत गरिसकेका छन् भने कति अझै भेटको प्रतिक्षामा खोज्दै छन् । उद्धार गरिएका बालबालिकाहरु अभिभावकसँगै आफ्नो घर जान चाहेका छन् ।

ऐश्वर्य बालगृहबाट उद्धार गर्ने क्रममा विभिन्न संघसंस्थाले आफ्नो क्षमताले भ्याएसम्मका बालबालिकाको जिम्मा लिएको भए पनि एकै परिवारका सन्तान एकै संस्थामा पार्नुपर्नेमा केही कमजोरी भएको देखिएको छ । बालबालिकाको जिम्मा लिएका संघसंस्थाबाट ती बालबालिका घर जान चाहेमा अभिभावकको जिम्मा लगाउने तयारी गरिएको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख मोहनविक्रम दाहालले उद्धार गरिएका बालबालिकाले काठमाडौंमै बसेर पढ्न चाहे पनि कानुनी प्रक्रिया पूरा गरी संघसंस्थाको जिम्मा लगाइने बताए ।

बालगृहबाट उद्धार गरिएका अझै सामान्य अवस्थामा नफर्किसकेकाले उनीहरुको चाहना बुझेर तत्काल परिवारको जिम्मा लगाउन पहल गर्नुपर्ने देखिएको छ ।

भिडियो हेर्नुहोस्