
प्रतीक्ष खनाल र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, जेठ ६ । विश्वभर छरिएर रहेका नेपालीहरुमा भएका उच्चस्तरका सीप र क्षमतालाई राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यका साथ सरकारले ‘ब्रेन गेन सेन्टर’ नामक अभियान सुरु गरेको छ ।
केही दशकयता शिक्षित नेपालीहरु विदेशीनेक्रम बढेसँगै देशमा आवश्यक मानवपुँजीको अभाव खड्एिको छ ।
त्यसैले विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको योगदानलाई संस्थागत गरी थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले यो अभियान थालनी गरेको हो ।
विदेशी भूमिमा रहेका नेपालीहरुको ज्ञान, सीप, अनुभव र योगदानको कदर गर्दै मुलुकलाई आवश्यक जनशक्तिको पहिचान गरी उपयुक्त क्षेत्रमा परिचालन गर्न ब्रेन गेन अभियान सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रुपान्तरण हुने सरकारको लक्ष्य रहेकाले उनीहरुको ज्ञान र सीपको उपयोग गरी सामाजिक र आर्थिक विकास गर्ने सरकारको लक्ष्य छ ।
अभियानमा सामेल हुनका लागि आफ्नो विज्ञताकाबारेमा सरकारलाई सूचना दिनुपर्नेछ ।
परराष्ट्र मन्त्रालयको वेबसाइटमा अहिलेसम्म ३९४ जना नेपालीले नाम दर्ता गराइसकेका छन् ।
विभिन्न विधामा उत्कृष्ट नेपालीहरुको विज्ञता र अनुभवबाट देशले फाइदा लिने परराष्ट्रसचिव शंकरदास बैरागी बताउँछन् ।
यो अभियानमा नाम दर्ता भएपछि पूर्णविवरण तयार पारिने र उनीहरुको ज्ञान सदुपयोग हुने सम्बन्धित क्षेत्रसँग समन्वय गराइने सचिव बैरागीले बताए ।
यो अभियानलाई गैरआवासीय नेपाली संघले पनि सकारात्मकरुपमा लिएको छ । मातृभूमिमा योगदान गर्न चाहने तर विदेशी भूमिमा रहेका नेपालीकोे चाहना यसबाट पूरा हुने उनीहरुको भनाइ छ ।
गैरआवासीय नेपाली संघका पूर्वकार्यकारी निर्देशक ओमराज आचार्य अभियानको भावनाबमोजिमको प्रतिफलका लागि सामाजिक, राजनीतिक, आर्थिकलगायतका सम्पूर्ण पाटोमा ध्यान दिनुपर्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्