२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


शिशु सिद्धार्थलाई कपिलवस्तु दरवारमा भित्र्याइयो


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, जेठ ६ । शान्तिका अग्रदूत सिद्धार्थ गौतम जन्मिएको २५६३ वर्षपछि सोही घटनाको स्मरण गर्दै रुपन्देहीको लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटसम्म बाजागाजासहितको अविरजात्रा गर्दै मायादेवीको प्रसूति उत्सव मनाइएको छ ।

महारानी मायादेवीले लुम्बिनी बगैंचामा जन्माएका राजकुमार सिद्धार्थलाई अविरजात्रा र हर्षबढाई गर्दै तिलौराकोट दरबार लगेर भव्य उत्सव मनाइएको हो ।

लुम्बिनीबाट बाजागाजाका साथ ल्याइएका शिशु बुद्धलाई तौलिहवास्थित जमुवार पुलबाट बग्गीमा चढाएर तिलौराकोटमा पु¥याइएको हो । यो कार्यक्रमलाई प्रथम मायादेवी प्रसुति उत्सवको नाम दिइएको थियो ।

लुम्बिनी भ्रमण बर्ष २०७६ अन्तर्गत प्रदेश ५ सरकारले तिलौराकोटमा प्रथम मायादेवी प्रसुति उत्सव आयोजना गरेको हो । बग्गीलाई नवदुलही जस्तो आकर्षक रुपमा सजाएर राजा–रानीसहित धातुको बेबी बुद्धको मुर्ति राखेर यात्रा गरिएको हो ।

राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु फर्किँदाको २६ सय वर्षअघिको क्षणको सम्झना गरिएको थियो । बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी शिशु बुद्धलाई राखेर २६ किलोमिटरको रथ यात्रा निकालिएको हो ।

यस अवसरमा बुद्धको मावली नगर देवदहका नगरप्रमुख हिराबहादुर केसीले कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहसहितको टोलीलाई बालक सिद्धार्थ गौतमका लागि भोटो उपहार दिएका थिए ।