
पाँचथर, जेठ ४ । पाँचथरमा सडकलाई मिचेर जथाभावी राखिएका गोलिया हटाइने भएको छ ।
जिल्ला दैविक प्रकोप उद्धार तथा राहत समितिले दुर्घटनाको जोखिम बढाउने भन्दै सडकलाई असर पर्ने गरी राखिएका गोलिया हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।
मेची राजमार्ग, पुष्पलाल लोकमार्ग र ग्रामीण सडकमा राखिएका गोलिया हटाउने बताइएको छ । सडकको क्षेत्राधिकार मिच्दै जथाभावी गोलिया राख्दा यातायात आवागमनमा समस्या हुने गरेको छ ।
मेची राजमार्गको राँकेदेखि कावेलीसम्म, मध्यपहाडी लोकमार्गको विभिन्न खण्ड र ग्रामीण सडकका अधिकांश ठाउँमा गोलिया राखिएको छ । दैविक प्रकोप उद्धार समितिले सडकमा राखिएका गोलिया हटाउन व्यवसायीलाई आग्रह गर्ने र उनीहरुले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने निर्णय गरेको हो ।
यसैबीच फालेलुङ गाउँपालिकाले वर्षाको समयमा गोलिया बोकेका सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्