१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


बुद्धमय बन्दै भैरहवा, मुख्य सडकमा धमाधम बुद्धको प्रतिमा राखिदैं


0
Shares

भैरहवा, जेठ ४ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा बुद्धमय हुने भएको छ ।

भैरहवाका मुख्य सडकमा गौतम बुद्धको प्रतिमा राख्न सुरु गरिएको छ । २५६३ औं बुद्ध जयन्तीका अवसरमा प्रदेश नम्बर ५ का उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरीले भैरहवामा बुद्ध मूर्तिको अनावरण गरे ।

लुम्बिनीसँग सबैभन्दा नजिक रहे पनि बुद्धको सम्बन्ध झल्काउने कुनै निशानी नभएका बेला सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रभित्र बुद्ध मूर्ति राखेको हो । पहिलो चरणमा बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दुरीमा बुद्ध मूर्ति राखिने उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले बताए ।

यसबाहेक लुम्बिनी रोडमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म मूर्तिहरु राखिने बताइएको छ । पहिलो चरणको लागि नगरपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।

बुद्ध मूर्तिसँगै भैरहवाकै बैंकरोडमा बुद्धत्व झल्किने गरी सबै घरमा एकै प्रकारको रङ लगाइने भएको छ । पहिलो चरणमा बैंकरोडबाट सुुरु गरि बिस्तारै नगरका अन्य भागका घरमा एउटै रङ लगाउने योजना नगरपालिकाले बनाएको छ ।