Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझाव


0
Shares

काठमाडौं, जेठ ३ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

नेपाल प्रहरी र काठमाडौं महानगरपालिका वडा नं. ५ ले आज काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले सामाजिक अपराधका घटना न्यूनीकरण गर्न समुदाय–प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।

प्रहरीले मात्र अपराध नियन्त्रण गर्न सम्भव नहुने भन्दै उनीहरुले समुदायसँग मिलेर काम गर्न सुझाव दिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले शान्तिपूर्ण र सुरक्षित समाजका लागि घर र समाजबाटै अभियानको सुरुवात हुनुपर्नेमा जोड दिए ।

उनले जनचेतनामा अभिवृद्धि गरेर अपराध नियन्त्रणमा न्यूनीकरण गर्न सकिने बताए । समाजमा विकृति र विसंगति बढेको भन्दै उनले विसंगति न्यूनीकरणका लागि प्रहरीलाई सही सूचना दिन पनि आग्रह गरे ।

काठमाडौ महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश महर्जनले प्रहरीलाई सहयोग गर्न र प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय निकाय तयार रहेको बताए । उनले प्रहरी र समुदायको साझेदारीबाट मात्र समाजमा परिवर्तन सम्भव हुने बताए ।

कार्यक्रममा प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन र स्थानीयका समस्याका बारेमा छलफल भएको थियो ।