१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


गुरुङ संग्रहालय आर्थिक अभावका कारण संकटमा


0
Shares

सन्तोष पुर्कुटी 

ताप्लेजुङ, जेठ ३ । ताप्लेजुङको एकमात्र गुरुङ संग्रहालय आर्थिक अभावका कारण व्यवस्थापनमा समस्या भएको छ । सदरमुकाम फुङलिङका गुरुङ समुदायका महिलाले पर्यटन प्रवर्द्धनलाई टेवा पुर्‍याउने उद्देश्यले स्थापना गरेको संग्रहालय आर्थिक अभावका कारण अलपत्र अवस्थामा पुगेको हो ।

ताप्लेजुङको सदरमुकाम फुङलिङका स्थानीय गुरुङ महिलाहरुको पहलमा २०६२ सालमा स्थापना भएको जिल्लाको एकमात्र गुरुङ संग्रहालय आर्थिक अभावमा अव्यवस्थित बन्दै गएको छ । गुरुङ समुदायको पहिचान, र संस्कृतिको चिनारी गराउने तथा त्यसबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संग्रहालय अहिले आर्थिक अभावमा गुज्रिएको छ । कार्यालय व्यवस्थापन र कर्मचारीलाई तलबभत्ता दिन नसकेको कारण समस्या परेको छ ।

महिला समूहको पहलमा सुरुवात भएको संग्रहालयमा गुरुङ समुदायका ऐतिहासिक सामग्रीहरु छन् । जहाँ ढिकी, जाँतो, चौंठो, हर्पे, जरु, चुङगे, घुम, साँस्कृतिक भेषभुषालगायत गुरुङ संस्कृति झल्कने पुराना सामग्रीहरु राखिएको छ ।

स्थानीय आमा समूहको रेखदेखमा रहेको यस संग्रहालयमा व्यवस्थापकीय समस्याकै कारण उल्लेख्य रुपमा पर्यटक तथा अवलोकनकर्ता आउन सकिरहेका छैनन् । संग्रहालय निर्माण गरिए पनि त्यसभित्र बत्तीको समेत व्यवस्था हुन सकेको छैन । अर्कोतिर स्थानीय जनताको आवश्यकता र समस्यालाई नियाल्ने स्थानीय सरकारले पनि संग्रहालयको व्यवस्थापनका लागि खासै चासो देखाउन सकेको छैन ।

यसको संरक्षणमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने उनीहरुको माग छ । 

जिल्लाको पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउन र पुरानो सांस्कृतिक सामग्रीको संरक्षण गर्ने उद्देश्यले संग्राहलयको निर्माण गरिए पनि आर्थिक अभावकै कारण संग्रहालयको व्यवस्थापन गर्न नसकिनु लज्जाको विषय हो । यस्ता ऐतिहासिक महत्वका स्थलहरुको प्रवर्द्धनका लागि स्थानीय सरकार पनि लाग्न जरुरी छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्