
सोलुखुम्बु, जेठ २ । गत वर्षको साउनमा सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका दुई बालकमध्ये एकजनाको शव बिहीबार फेलापरेको छ ।
तालमा बेपत्ता भएको करिब १० महिनापछि विदेशी विशेषज्ञ र सशस्त्र प्रहरीको गोताखोरको संयुक्त टोलीले बिहीबार सुनिल बराइलीको शव फेलापारेको हो ।
अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका निरीक्षक पुरुषोत्तम भण्डारी र पथप्रदर्शक देण्डी शेर्पासहितको अत्याधुनिक उपकरणसहितको टोलीले रोबोटको सहायताले शव पत्ता लगाएको हो ।
करिब ३५ फिट गहिराइमा पुगेर रोबोटले बराइलीको शव पहिचान गरेको जनाइएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु–४ स्थित खुम्जुङ माध्यमिक विद्यालयबाट गत साउन १९ गते शैक्षिक भ्रमणमा गएका बालबालिकामध्ये तीनजना पौडी खेल्नेक्रममा गोक्यो तालमा बेपत्ता भएका थिए ।
बेपत्ता भएका पेम्बादोर्जी शेर्पा, सुनिल बराइली र पेम्बानुरु शेर्पामध्ये पेम्बानुरु शेर्पाको शव सशस्त्र प्रहरीको गोताखेरले पहिले नै निकालेको थियो । पेम्बादोर्जी शेर्पाको शव भने अझैपनि भेटिएको छैन ।
प्रतिक्रिया दिनुहोस्