
प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज)
काठमाडौं, जेठ १ । सोलुखुम्बुका ४९ वर्षीय कामीरिता शेर्पाले २३औंपटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राखेका छन् ।
यसअघि आफैंले बनाएको रेकर्ड तोड्दै उनी विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुगेका हुन् ।
सन् १९५३ मा पहिलोपटक सफल आरोहण भएपछि सुरु भएको आरोहण यात्राकाक्रममा सगरमाथामा थुप्रै रेकर्डहरु बनेका छन् ।
यसैक्रममा नेपालका कामीरिता शेर्पाले सर्वाधिक २३ पटक सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका हुन् ।
सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका शेर्पा बुधबार बिहान २३औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् ।
१२–१३ वर्षको उमेरदेखि पर्यटकको भारी बोकेर हिमाल चढ्न थालेका शेर्पाले पथप्रदर्शकको काम गर्दागर्दै पहिलोपटक २४ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पाइला टेके ।
उनले सगरमाथासहित ८ हजार मिटरभन्दा बढी अग्ला हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन् ।
पटक–पटक सगरमाथा आरोहण गर्नेका लागि होस् या पहिलोपटक आरोहण गर्नेका लागि सगरमाथा आरोहण उत्तिकै जोखिमयुक्त र चुनौतीपूर्ण हुने आरोही डोमा शेर्पा बताउँछिन् ।
तर, त्यसमै रोमान्चित हुनु नै आरोहणको महत्वपूर्ण पाटो भएको डोमाको भनाइ छ ।
गत वर्ष सगरमाथाको सफल आरोहण गरेकी डोमा शेर्पाले आरोहणका अनुभवहरु यसरी सुनाउँछिन् ।
यस वर्ष सगरमाथा आरोहणका लागि ३७८ जनालाई अनुमति दिइएको छ । जसबाट राज्यले करिब ४४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
पर्यटन विभागकाअनुसार सगरमाथा आरोहण गर्नेमा ३६ विदेशी र ६ स्वदेशी समूह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्