१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्रीबीच भेटवार्ता


0
Shares

काठमाडौं, जेठ १ । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेन्जबीच बुधबार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

उनले केही मअिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सोक्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भूमिका खेलेको चर्चा गरे ।

गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायकमन्त्री रेन्जसँग आग्रह गरे ।

अमेरिकाले ‘मिलेनियम च्यालेन्ज कोपरेसन’मार्फत् नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ ।

भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताए ।

उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचबिखनलगायत क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

उपसहायकमन्त्री रेन्जले अमेरिकी स्वयंसेवी समूह ‘पिसकोर’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोगलगायत विषयमासमेत गृहमन्त्री थापासँग कुरा राखेका थिए ।

भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीसमेत सहभागी थिए । रासस