
कञ्चनपुर । गर्मी बढेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका प्राकृतिक तालमा पानी सुक्न थालेको छ ।
बर्खायाममा पानीले माटो र बालुवा बगाउँदा ताल पुरिँदै गएपछि पानी सुक्न थालेको हो ।
निकुञ्जभित्र रानीताल, बाबाताल, शिकारी ताल, कालिकिच ताल लगायतका आधादर्जन बढी ताल छन् ।
ताल सुक्न थालेपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको छ ।
यता ताल सुक्ने समस्या भएपछि वन्यजन्तुलाई पानीको अभाव हुन नदिन कृत्रिम ताल बनाउने तयारी भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा निकुञ्जभित्र ६० वटा कृत्रिम ताल निर्माणका लागि दुई लाखका दरले बजेट विनियोजन गरिएको छ ।
यस्तै गत वर्ष २४ वटा कृत्रिम तालको निर्माण गरि सोलार तथा विद्युतीय पम्पसेटबाट वन्यजन्तुलाई पानीको व्यवस्था गरिएको थियो ।
२०२६ मा शाही शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाँटालाई २०३३ मा वन्यजन्तु आरक्ष हुँदै २०७३ सालमा राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको हो ।
कुल ३ सय ५ वर्ग किलोमीटर क्षेत्रफल रहेको यस निकुञ्जमा दक्षिण एसियामै सबैभन्दा धेरै बाह्रसिंगाको झुण्ड र घाँसे मैदान देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्