Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन ब्यूँताउने तयारी


0
Shares

काठमाडौं, भदौ ७ । भारत, पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमनिस्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलनका लागि तयार रहन सर्वसाधारणलाई आह्वान गरेपछि दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन पुनः चर्किने सम्भावना बढेको छ ।

गुरुङले ‘ब्याक टु एजिटेसन’ भन्दै दार्जिलिङका नेपाली भाषी गोर्खालीलाई आन्दोलनमा उत्रनका लागि तयार रहन भनेपछि त्यहाँ पुनः आन्दोलनको सम्भावना बढेर गएको हो ।

असोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट गोर्खाल्याण्ड मुद्दालाई सहानुभूतिपूर्वक हेर्ने आश्वासन पाएपछि स्वायत्त राज्य गोर्खाल्याण्डको माग गर्दै दुई महिनादेखि जारी पदयात्रा रोकेर चुपचाप बसेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष गुरुङले आन्दोलनका लागि तयार रहन आहवान गरेपछि दार्जिलिङ पहाडमा हलचल मच्चिएको छ ।

लडाई दिल्लीसँग मात्र हो भन्दै गत वर्ष असोज १५ बाट गोर्खाल्याण्ड जनजागरण पदयात्रा थालेको गोर्खा जनमुक्ति मोर्चाले मोदीसँगको भेटपछि धर्ना र पदयात्रा स्थगन गर्ने निर्णय गरेको थियो ।

आइतबार दार्जिलिङमा भएको एक कार्यक्रममा बोल्दै गोजमुमोका अध्यक्ष गुरुङले पश्चिम बंगाल राज्यसरकारी मुख्यमन्त्री ममता बेनर्जीलाई भारतको केन्द्र सरकारलाई नटेर्ने अटेरी मुख्यमन्त्रीको संज्ञा दिए । उनले भने, ‘म महाँकाल बाबाको कसम खाएर पुनः गोर्खाल्याण्ड आन्दोलनका लागि उत्रिएको छु, तपाईहरु तयार भएर बस्नुहोस् ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट