काठमाडौं । आठौं बृहत राष्ट्रिय खेलकुदका विभिन्न पाँच खेल आजदेखि सुरु हुँदैछन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते नेपालगन्जमा हुने छ ।
नेपालगन्जको मुख्य रंगशाला फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश ५ को नेपालगञ्जमा गर्मी बढ्दै गएकाले आउटडोर भेन्युमा खेल्नुपर्ने विभिन्न खेल एक साता अघि नै थालिएको हो ।
भौतिक पूर्वाधारको दृष्टिले नेपालगन्ज र आसपासका शहरमा गर्न असम्भव केही खेल देशका अन्य सहरमा सुरु हुन लागेका हुन् ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका स्क्वास खेलहरु आज ललितपुरको सातदोवाटोमा सुरु हुँदैछ ।
त्यसैगरी टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलहरु पनि आजैदेखि हुनेछन् ।
टेबल टेनिस खेल दाङको घोराही कभर्डहलमा हुनेछ भने कुस्ती कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा, पुरुष हक्की नेपालगञ्जको मंगलप्रसाद उच्च माविमा तथा लनटेनिस बुटवलमा हुनेछ । महिला हक्कीका खेलहरु भने बाँकेको खजुरामा चैत ३० गतेदेखि हुनेछन् ।
वैशाख ११ गतेसम्म औपचारिक रुपले चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ ।
मुलुकका सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैर आवासीय नेपालीहरुको एक टोली गरी कुल ११ टोलीका ५ हजार २ सय ११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ३ सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा ५ सय ६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।
खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा हुनेछन् ।








प्रतिक्रिया दिनुहोस्