Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘गान्धीको सन्देशलाई आत्मसाथ गरे धर्ती अझ सुन्दर हुनेछ’


0
Shares

काठमाडौं, असोज १६ । दिल्ली विश्वविद्यालयका प्राध्यापक डा.रामचन्द्र प्रधानले नयाँ पुस्ताले महात्मा गान्धीले दिनुभएको सन्देशलाई आत्मसाथ गर्न सके धर्ती अझ सुन्दर हुने बताएका छन् ।

अन्तराष्ट्रिय अहिंसा दिवसको उपलक्ष्यमा डिबेटिङ क्लबले आज राजधानीमा गरेको विचार गोष्ठीमा बोल्दै डा. प्रधानले गान्धीले आदर्श र सपना मात्र देखाएको नभई व्यवहारमा समेत लागु गरेकाले विश्वभर चर्चा भएको औंल्याए ।

गान्धीले दिएको सत्याग्रह साधन अहिंसात्मक माध्यमबाट समाज बदल्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाई थियो ।

गान्धीवादका अध्येता तथा विश्लेषक शंकर तिवारीले महात्मा गान्धी भारत, नेपाल र दक्षिण एसिया मात्र नभई विश्वमै एउटा नयाँ बाटो देखाउने व्यक्ति भएको चर्चा गरे ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि गान्धीजी अहिंसाकै पक्षमा उभिएकाले उनले देखाएको बाटो नयाँ पुस्ताका लागि प्रभावकारी हुने उनले बताए ।

विद्यार्थी नेता शैलेन्द्र शर्मा गौंडेलले संयोजन गरेको कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष प्रताप पौडेललगायतले गान्धीको बारेमा चर्चा गरेका थिए ।

यता, आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि मनाउन थालिएको हो ।