काठमाडौं, असोज १७ । सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगलाई स्थानीय निकाय गठन, सीमांकनलगायतका विषय तत्काल टुंगो लगाएर जतिसक्दो छिटो निर्वाचनको वातावरण बनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका नेता तथा आयोगका अध्यक्ष बालानन्द पौडेलबीच सोमबार सिंहदबारमा भएको छलफलमा इलाकालाई नै आधार मानेर स्थानीय निकाय गठन गर्ने गरी संख्या निर्धारण र सीमांकनलाई कात्तिकभित्र टुंग्याउन आग्रह गरिएको हो ।
त्यसका लागि आवश्यक कानुन संशोधन तथा अन्य सहयोगका लागि आफूहरु तयार रहेको पनि नेताहरुले बताएका छन् ।
सरकारले आयोगलाई दिएको नयाँ मापदन्डको विषयमा पनि बैठकमा छलफल भएको थियो ।
आयोगका अध्यक्ष पौडेलले पुनर्संरचनाको काम अघि बढिसकेकोबेला नयाँ मापदन्ड लागू गर्दा केही अप्ठेरो हुने भएपनि छलफलबाट द्विविधा हटेको बताए ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, स्थानीय विकासमन्त्री हितराज पाण्डे, आयोगका अध्यक्ष पौडेललगायतको सहभागिता थियो ।





प्रतिक्रिया दिनुहोस्