फाइल फोटो
नुवाकोट, असोज १७ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्तापक्ष एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री केसीले सोमबार नुवाकोट–रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मधेसकेन्द्रित दलले राखेका सबै माग जायज नभएकाले सबै माग पूरा नहुने बताए ।
मन्त्री केसीले भने–‘तिनको सही माग राज्यले सम्बोधन गर्नुपर्छ, तर नाजायज माग पूरा हुनै सक्दैन ।’
उनले अबको १८ महिनाभित्र तीन निर्वाचन गर्नुपर्ने बाध्यता राजनीतिक दलबीच रहेकाले सबै दल मिलेर सही बाटोको खोजी गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचनाका विषयमा सरकारले ९२७ इलाकालाई आधार बनाएको जानकारी दिए ।
कार्यक्रममा सांसद तथा कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले स्थानीय निकायको पुनःसंरचनाको सिफारिस गर्दा १३ मात्रै गरिएकामा कांग्रेसले १५ देखि १८ ओटा स्थानीय निकाय हुनुपर्ने माग राखेको बताए । रासस









प्रतिक्रिया दिनुहोस्