Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सांसदहरुको दर्जन प्रश्नमा गृहमन्त्रीले दिए यस्तो जवाफ


0
Shares

काठमाडौं, असोज १८ । उपप्रधान तथा गहमन्त्री विमलेन्द्र निधीले त्रिशुलीमा गाडी सहित वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको खोजीमा सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् ।

संसदको मंगलबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिने क्रममा गृहमन्त्री निधीले पूर्व गृहमन्त्री घिमिरेसहित उनका २ जना भाईहरुको खोजीका लागि सरकारले विभिन्न स्थानमा करिब १ हजार सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए ।

यही असोज ९ गते पूर्व गृहमन्त्री सवार गाडी चितवनको दाह्रेचोकबाट त्रिशुली नदीमा खस्दा घिमिरेसहित उनका भाइहरु वेपत्ता भएका थिए ।

गृहमन्त्री निधीले २ महिना यता भएका सडक दुर्घटनामा परी देशभर करिब ३ सय जनाको ज्यान गएको जानकारी पनि दिए । यस्तै यही अवधिमा भएको प्राकृतिक प्रकोपमा परी १ सय २१ जनाको ज्यान गएको उनको भनाइ थियो ।

उनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाका परिवारलाई सरकारले दिंदै आएको किरिया खर्चको रकम ४० हजारबाट बढाएर १ लाख पुर्‍याएको पनि बताए ।

यस्तै कैलालीको टीकापुर घटनामा मुद्दा खेपिरहेकाहरुको मुद्दा फिर्ता लिन सरकारले कानुन अनुसार प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

बैठकमा धारणा राख्ने डेढ दर्जन सांसदहरुले चाडबाडका बेला महंगी बढेको, यात्रुहरुले गाउँ फर्कन बस नपाएको, बाढी पहिरोमा परी मृत्यु भएका तथा घाइते परिवारलाई सरकारले राहत नदिएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा गृहमन्त्री निधीले निर्वाचनसम्बन्धी तीनवटा विधेयश पेश गरेका छन् । जसमा ‘राजनीतिक दलसम्बनधी विधेयक’, ‘मतदाता नामावली सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयक’ रहेका छन् ।

यस्तै बैठकले ‘राजर्षि जनक विश्वविद्यालय विधेयक ’ र ‘सहकारी विधेयकलाई सर्वसम्मतले स्वीकृत गरेको छ । संसदको अर्को बैठक आगामी असोज ३० गते बस्नेछ ।

Skip This