Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आठौं राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक


0
Shares

काठमाडौं, चैत १६ । प्रदेश नम्बर–५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ ।

शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार जारी गरेको खेलतालिकाअनुसार बाँकेमा १७ ओटा खेल हुनेछ ।

त्यसैगरी, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक/एक खेल आयोजना गरिनेछ ।

वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत् बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्यास्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याडमिन्टन, बास्केटबल, आइटीएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।

यस्तै, रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङटेनिस र तेक्वान्दोका खेल आयोजना गरिनेछ ।

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो र सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा पाराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।

प्रदेश नम्बर–५ मा प्रतियोगिता आयोजना हुने भएपनि पाराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा गर्न लागिएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन आगामी वैशाख ५ गते नेपालगन्ज रंगशालामा र समापन पनि वैशाख ११ गते सोही रंगशालामा गरिनेछ ।

गत मंसिरमै तय भएको प्रतियोगिता पूर्वाधार तयार नहुँदा पटक–पटक सर्दै आएको थियो ।

राखेपको शुक्रबार बसेको सन्चालक समिति बैठकले प्रतियोगिता वैशाख ५ देखि गर्ने निर्णय गरेको हो । रासस