२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्वकप दाबेदार ब्राजिल पराजित, बेल्जियम सेमिफाइनलमा


0
Shares

काठमाडौं, असार २३ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसको काजान एरिनामा गएराति भएको क्वाटरफाइनलमा बेल्जियम २-१ ले विजयी भयो । खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता लियो ।

बेल्जियमका नासिर चाड्लीको कर्नर प्रहारमा फर्नान्डीनेले आत्माघाति गोल गरेपछि ब्राजिल १-० ले पछि परेको हो । काउण्टर अट्याकमा उत्कृष्ट खेल प्रदर्शन गरेको बेल्जियमले ३१ औं मिनेटमा दोस्रो गोल गर्‍यो ।

रोमेलु लुकाकुको पासमा केभिन डे ब्रायनले डि एरिया बाहिरबाट आकर्षक गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका हुन् । दोस्रो हाफमा ब्राजिलले केही राम्रा अवसरहरु बनायो ।

७६ औं मिनेटमा रेनाटो अगष्टोले एक गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे ।

फिलिप कौटिन्होको उत्कृष्ट पासमा सब्स्टीच्युट खेलाडी अगष्टोले गोल गर्दै ब्राजिलको आशा जगाएका हुन् ।

खेलको अन्त्यतिर ब्राजिलले लगातार दबाब बनाए पनि गोल थप्न नसक्दा क्वाटरफाईनलबाटै घर फर्किनुपर्‍यो ।

ब्राजिलको हारसँगै रुसमा जारी विश्वकप फुटबलमा अब दुई वटामात्रै पूर्व विजेता टोली बाँकी रहेका छन् ।

सन् १९९८ को विश्वकप विजेता फ्रान्सले बेल्जियमविरुद्धको सेमिफाइनल भिडन्त तय गर्दा १९६६ को विजेता इङ्ल्यान्डले आज क्वाटरफाइनलमा स्विडेनको सामना गर्नेछ ।

गएरातिका खेलसँगै विश्वकप फुटबलको यो संस्करणमा सेमिफाइनलमा पुग्ने सबै चारवटा टोली युरोपियन हुने भएका छन् ।

युरोपियन राष्ट्रहरु फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने आज हुने क्वाटरफाइनलमा भिड्ने सबै चार टोली युरोपियन रहेका छन् ।