Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपाली टोली बन्द प्रशिक्षणमा


0
Shares

काठमाडौं, असार २२ । विश्वकै पुरानो क्लब मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टोली शनिबारदेखि बन्द प्रशिक्षणमा बस्ने भएको छ ।

प्रशिक्षणका लागि शुक्रबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा पाका खेलाडी सुवास खकुरेलसँगै विनोद भण्डारी र प्रदीप ऐरी पनि समेटिएका छन् ।

नयाँ अनुहारकारुपमा भने टोलीमा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा उदयीमान खेलाडीको उपाधि जितेका हरि क्षत्री पहिलोपटक समेटिएका छन् ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा रहेका अरु खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सुनील धमला, सुशन भारी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले खेलाडीहरु छनोट गरेका हुन् । बन्द प्रशिक्षणपछि अन्तिम टोलीको घोषणा हुनेछ ।

नेपाली टोली आगामी साउन ९ गते बेलायतको लर्डस् जानेछ । त्यहाँ नेपालले साउन १३ गते एमसीसीसँग खेल्नेछ ।

नेदरल्यान्ड्ससँग भने साउन १६ र १८ गरी दुईओटा एक दिवसीय खेल नेदरल्यान्ड्समै हुनेछ ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि पहिलो भिडन्त नेदरल्यान्ड्ससँग गर्न लागेको हो ।