
काठमाडौं, फागुन २६ । चार दशकदेखि सक्रिय गीतकार प्रकाश दीपको एकल रचनामा ‘चौबन्दी चोलो’, ‘गोरी गोरी अलि काली काली’ र ‘परदेशी दाजै’ गीति संग्रह सार्वजनिक गरिएको छ ।
चौबन्दी चोलो गीति संग्रहमा मुक्ति एण्ड रिभाइभलको लोकप्रिय गीत ‘चौबन्दी चोलो’का साथै अनिल शाक्य, विरेन शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, नविन कार्की, सत्यनारायण प्रजापति, मदनसिंह नेपालीको संगीत संग्रहित छन् भने मुक्ति शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, रवि खनाल, नविन पञ्चकोटी, थुप्टेन भुटिया, नरेन्द्र प्यारी, स्वयम्भुराज शाक्य तथा धनुषा सिंहका स्वर समेटिएको छ ।
जेम्स प्रधानको एकल संगीतमा ८ गीतको संग्रह रहेको ‘गोरी गोरी अलि काली काली’मा आश्विन दाहाल, एन्जेला सिंह, श्रृजना श्रेष्ठ, रोशन तण्डुकार, सुदिप श्रेष्ठ, रवि खनाल, नरेश श्रेष्ठको आवाज संग्रहित छ । जेम्स प्रधानको स्वरमा नेपालभाषाको लोकप्रिय गीत ‘धेधेचुल पासा’ यही एल्बममा सम्मिलित छ ।
‘परदेशी दाजै’ गीति संग्रहमा भने सचिन सिंह, बीएम सिंह, कराजन, जेम्स प्रधान, भूपेन्द्र रायमाझी, मदन परियार, सुशील विश्वकर्माको संगीतमा सृजना श्रेष्ठ, रजनी प्रधानाङ्ग, सविता मालाकार, एन्जेला सिंह, जुनु श्रेष्ठ, सपनाश्री र भीमा सिंहले स्वर दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ गायक, गोल्डन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान तथा कार्यक्रमका अतिथि गीतकार आनन्दरत्न बज्राचार्यले ३ वटा गीति संग्रह लोकार्पण गरेका थिए । कार्यक्रममा अतिथिका रुपम संगीतकार जूगल डंगोल, गायक तथा संगीतकार जेम्स प्रधान उपस्थित थिए ।
रवि खनाल, एन्जिला सिंह, गोविन्द ह्यूमतले गीतकार प्रकाश दीपका एल्बममा संग्रहित तथा नयाँ गीत सुनाएका थिए भने सरीता शाही, सोनी राजभण्डारी, सुरजवीर बज्राचार्य, सुलिन्द्र शाक्य, रोजी डंगोल श्रेष्ठले पनि गीत सुनाए ।
कार्यक्रममा गीति संग्रहमा गीतका गायक, संगीतकार एवं अन्य सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
सुरजवीर बज्राचार्यले सञ्चालन गरेको उक्त कार्यक्रम गीतकार प्रकाश दीप र अनु श्रेष्ठ वैवाहिक वन्धनमा बाँधिएको ३० बर्षको प्रवेशको अवसरमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्