Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपालमा हुन लागेको निर्वाचनप्रति भारत ‘खुसी’


0
Shares

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग शुक्रबार नयाँदिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरेकी हुन् ।

उनले मन्त्री डा. महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकीमुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत् हुन लागेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताइन् ।

उनले नेपालको निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढीकरणमा थप सघाऊ पुगेको धारणा राखेकी थिइन् ।

सो अवसरमा मन्त्री डा. महतले नेपालको निर्वाचनका लागि भारतले पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

भेटकाक्रममा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषय र नेपालका राष्ट्रपतिको हालै सम्पन्न भारत भ्रमणकाबारेमा पनि कुराकानी भएको थियो ।

सोक्रममा द्विपक्षीय सहयोगका आयोजनाकाबारेमा समीक्षा गर्दै समयमै सम्पन्नताका लागि उनीहरुले जोड दिए ।

सो भेटमा मन्त्री डा. महतले यसअघि नेपाल र भारतका मन्त्रिस्तरीय बैठकमा भएका सहमतिको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारीरुपमा अघि बढाइ आपसी हित प्रवद्र्धनका क्षेत्रमा काम गर्न सक्नेगरी उपयोग गर्न आग्रह गरे ।

डा. महत भारतीय राजधानी नयाँदिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनको उद्घाटनका लागि शुक्रबार बिहान नयाँदिल्ली पुगेका हुन् ।

शुक्रबारै साँझदेखि सुरु हुने उक्त सम्मेलनमा नयाँदिल्लीस्थित नेपाल हेर्ने ७० भन्दा बढी देशका राजदूतको सहभागिता रहनेछ ।

नेपालले पहिलोपटक गर्न लागेको सो सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत् आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायत विषयमा परराष्ट्रसचिव शंकरदास वैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञको प्रस्तुति रहनेछ ।

मन्त्री डा. महत शनिबार स्वदेश फर्कने कार्यक्रम रहने परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । रासस