३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


जनता जगाउने चुनावी गीत: यूट्युबमा हिट, सामाजिक संजालमा भाइरल


0
Shares

निर्वाचन प्रचारका लागि समय थोरै भएपछि चुनावी गीतसमेत बनाएर दलहरुले गीतमार्फत नै भोट माग्न थालेका छन् ।

प्रविधिको विकाससँगै सञ्चारमा आएको परिवर्तनले निर्वाचन प्रचारको शैलीमा पनि बदलिदिएको छ । दलहरुले सामाजिक सञ्जाललाई निर्वाचन प्रचारको मुख्य माध्यम बनाउँदै लगेका छन् ।

निर्वाचन आउन एकाध दिन मात्र बाँकी रहेको र जनताको घर दैलोमा पुग्न समेत ढिला हुने भएपछि दलहरुले केन्द्रीय तहबाटै प्रचार सामाग्री बनाएर प्रचार थालेका छन् ।

दलहरुले चुनावी गीत बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै मतदातालाई आकर्षषि गरिरहेका छन् । नेपाली कांग्रेसले देशमा शान्ति, अमनचयन र विकासका लागि आफ्ना उम्मेदवारलाई भोट हाल्न गीतमार्फत् नै आग्रह गरेको छ ।

विपक्षी नेकपा एमालेले पनि आफू नेतृत्वको सरकारले ल्याएको बजेटको बखान गर्दै मुलुकको समृद्धिका लागि एमाले उम्मेदवारलाई भोट हाल्न आह्वानसहितको गीत बनाएर सार्वजनिक गरेको छ ।

सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले रगतसँग साटेर गणतन्त्र ल्याएको भन्दै गीत बनाएर मत मागिरहेको छ ।

त्यसैगरी राप्रपाले अन्य पार्टीले खासै काम गर्न नसकेको र भ्रष्टाचार बढेकाले त्यसलाई नियन्त्रण गर्न आफूहरुलाई मत हाल्न आग्रहसहितको गीत सार्वजनिक गरेको छ ।

यूट्युबमा चर्चित

पार्टीका आधिकारिक चुनावी गीतले यूटयूबमा यतिबेला अधिक चर्चा पाइरहेको छ । नागरिकलाई जागरुक गराउने रमाइला गीत रेकर्ड तथा छायांकन गरी यूट्युबमा अपलोड गर्ने र मतदाता फकाउने प्रतिस्पर्धा पनि चलिरहेको छ ।

नेपाली कांग्रेसका करिब १० वटा चुनावी गीत यही महिना मात्र यूटयुबमा अपलोड भएका छन् ।

सुनिल थापा र राधिका हमालको स्वरमा रहेको ‘जय नेपाल जय नेपाल’ बोलको गीतले एकसातामै १ लाख ५२ हजार भ्यूअर पाइसकेको छ । गणेश सापकोटाको निर्देशनमा पोखरामा छायाकंन भएको ‘चारतारा’ बोलको गीत धेरैले हेर्नेमा परेको छ ।

बद्री पंगेनी र प्रिया भन्डारीको स्वरमा रहेको ‘मै पनि एमाले’ बोलको गीतले दुईसाता मै पाँचलाख बढी भ्यूअर पाएको छ ।

एमालेका करिब एक दर्जन गीत यही महिना आएका छन् । एमालेले आफ्नै युटयुब च्यानलमार्फत गीतहरु अपलोड गरिरहेको छ ।

माओवादी केन्द्रका पनि करिब ४ वटा चुनावी गीत सार्बजनिक भएका छन् । ‘घरघरमा माओवादी केन्द्र’, ‘म पनि माओवादी’ ‘आयो माओवादी केन्द्र’ बोलका गीत यूट्युबमा हिट भइरहेका छन् ।

राप्रपाको ‘नेपाली नेपाली, हामी वीर नेपाली’, नयाँ शक्ति पार्टीको ‘अबको निकास, आर्थिक विकास’, ‘भोट के मा मसालमा’, भोट फर विवेकशील नेपाली’ बोलको गीत यूट्युबमा चर्चित छन् ।