५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


उत्कृष्ट न्यूज भिडियोको अवार्ड सन्तोषी अधिकारीलाई, १२ विधामा को–को ?


0
Shares

काठमाडौं । ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ अन्तर्गत विभिन्न १२ विधाका विजेताहरुलाई काठमाडौंमा एक समारोहबीच अवार्ड वितरण गरिएको छ ।

ड्रिम वल्र्ड फिल्म मेकर्सको आयोजनामा छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका उत्कृष्ट संघसंस्था वा व्यक्तिलाई अवार्ड प्रदान गरिएको हो ।

फिल्म निर्देशक संगीता श्रेष्ठ, ब्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करुण थापा अवार्डका निर्णायक रहेका समारोहमा उत्कृष्ट न्यूज भिडियोको अवार्ड एबीसी टेलिभिजनकी प्रस्तोता सन्तोषी अधिकारी प्राप्त गरियो ।

समाचार वाचन र स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेकी अधिकारीले निर्माण गरेको समाचारमूलक भिडियो केही समयअगाडी सोसल मिडियामा भाइरल भएको थियो ।

काठमाडौंको रत्नपार्कमा भेटिएका दुइ अबोध बालकहरुको दर्दनाक र हृदयविदारक कथा सोेसल मिडिया फिल्म अवार्ड २०७५’को बेस्ट न्यूज भिडियोमा पर्न सफल भएको हो ।

सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक अनिरुद्र दवाडी बने भने सर्वोत्कृष्ट डकुमेन्ट्री ‘जोगी’ र लघु चलचित्रतर्फ ‘अलिखित’ सर्बोत्कृष्ट घोषित भयो ।

त्यस्तैगरी उत्कृष्ट सर्ट फिल्मतर्फको सम्पादकबाट ‘पुन्टेको पांग्रो’का मुकेश चौधरी र युवराज खनाल साथै उत्कृष्ट सिनेमेट्रोगाफरबाट विकल थापाले अवार्ड उचाले । त्यस्तै उत्कृष्ट सर्ट फिल्म ध्वनीतर्फ ‘पुन्टेको पांग्रो’कै विनय अधिकारी सफल भए । उत्कृष्ट सर्ट फिल्म अभिनेतातर्फ अनिशजंग थापा र निमेष श्रेष्ठ साथै अभिनेत्री स्मृति न्यौपाने अवार्ड जिते ।

समारोहमा उत्कृष्ट फेसबुक भिडियोको अवार्ड फन रिभोलुसन टिभीका निमेष श्रेष्ठ र उत्कृष्ट ट्रोलको अवार्ड ट्रोल फुटबल नेपालले प्राप्त गर्‍यो । छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उनीहरुको सृजनालाई सम्मान स्वरुप जनमानस माझ ल्याउन यस्तो अवार्डको प्रतिस्पर्धा सुरु गरिएको ‘ड्रिम वोल्ड अफ फिल्म मेकर्स’ का अध्यक्ष एवम निर्देशक सबनम मुखियाले बताइन् ।

कार्यक्रममा प्रथम नेपाली अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुषाल, निर्देशक आकाश अधिकारीलयगातको उपस्थिती थियो ।

निर्णायक मण्डलले कार्यक्रममा जुरी अवार्डबाट ‘बोकाहरु’ टिमलाई सम्मान गरे । समारोहमा ‘सोसल मिडिया रङ्ग पत्रकारिता सम्मान’ कुवेर गिरीलाई प्रदान गरियो । त्यस्तै, ‘सोसल मिडिया चलचित्रकर्मी सम्मान’बाट संगीता श्रेष्ठ सम्मानित भइन् ।